कांग्रेस संसदीय दलको निर्वाचन, कसले मार्ला बाजी? एक विश्लेषण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०७९, बुधबार
3 Min Read
Aa

नेपाली कांग्रेसको गत महाधिवेशनमा निर्माण भएको सस्थापन इतर समुह, शेखर कोइरालाले गगन थापालाई संसदीय दलमा आफ्नो प्रत्यासी चुनेपछि कांग्रेसमा पुस्तान्तरणको मुद्दा सघन भएको छ ।

धेरै जनाले दावी गरेपनि अन्ततः हिजो भएको संसदीय दलको निर्वाचनको मनोनयनमा वर्तमान सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन कुमार थापाले मात्र मनोनयन गरेपछि, अव यी दुई मद्धे एकजना कांग्रेसको भावी संसदीय दलको नेता बन्नेछन् । संस्थापन इतर समूहमा धेरैजनाको दावी रहदा र उनीहरूबीच सहमति नहुदाँसम्म देउवा सहज अवस्थामा  थिए । तर, शेखर कोइरालाले गगन थापालाई संसदीय दलको नेतामा समर्थन गरेसँगै कांग्रेस निर्वाचन रोमाञ्चक मोडमा पुगेको छ । खासगरि कांग्रेसभित्र लोकप्रिय भनिएका गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदिप पौडेल र कोइराला परिवारको विरासत मानिएका डा. शेखर कोइराला एकातिर भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको युग कांग्रेसमा लामो नरहेको अनुमान गर्न सकिन्छ ।

- Advertisement -
Ad imageAd image

सामन्यतय अंकगणितलाई मात्र हेर्ने हो भने अझै पनि सभापति एवम् प्रधानमन्त्री देउवा नै विजयी हुने देखिन्छ । तर कांग्रेसभित्र स्थापित भएको पुस्तान्तरणको मुद्दा, पार्टी र सरकार सञ्चालनमा देउवाको असफलता, आमनिर्वाचनमा कांग्रेसको घट्दो जनमत जस्ता कुराले देउवाको पक्षमा रहेका प्रतिनिधि सभा सदस्य पनि देउवाबाट अव कांग्रेसको नेतृत्व सम्भव नहुने कुरामा सहमत हुन थालेको देखिन्छ । खासगरि प्रम देउवा पत्नि डा.आरजु देउवाको पार्टी र सरकार सञ्चालनमा भएको हस्तक्षेप, डा. आरजुको अपरिपक्क र गैर राजनीतिक चरित्र, उनका बिबादास्पद अभिव्यक्तिले कांग्रेसको लोकप्रिय मत घटेकोमा प्राय सवै कांग्रेस कार्यकर्ता सहमत देखिन्छन् । त्यसमा पनि कांग्रेस भित्रैबाट डा. आरजुको दानविकरणको प्रचार हुनुले उनलाई थप अलोकप्रिय बनाएको प्रष्ट देखिन्छ ।

अहिले प्रतिनिधीसभामा कांग्रेसका कुल ८९ सांसद छन् । प्रत्यक्ष र समानुपातिक गरी कोइराला-गगन खेमामा ३१ जना प्रतिनिधि सभा सदस्य स्पष्ट खुलेका छन्  । बाँकी ५८ जना देउवा पक्षको भएको मानिन्छ । तर महाधिवेशन यता तीव्रगतिमा समूहमा भएका हेरफेरलाई हेर्ने हो भने यसै भन्न सकिने अवस्था छैन ।

गोरक्षपोष्टले कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका सदस्य सँग गरेको कुराकानीका आधारमा विश्लेषण गर्दा वर्तमान सभापति देउवाले ४९ मत पाउने पक्का देखिन्छ । त्यस्तै गगन थापाले ३५ मत पाउने देखिन्छ । ५ मत कता जान्छ स्पष्ट छैन ।

तर यो सामान्य विश्लेषण मात्र हो । ठ्याक्कै यस्तै हुन्छ भन्न सकिन्न तर कांग्रेस सांसदले मन बदले परिणाम फरक आउँ सक्छ । यसै पनि देउवा उत्तरार्धमा छन् भने गगन प्रमुख नेतृत्व बन्ने पूर्वार्धमा छन् । शक्तिमा स्थापित हुँदैगरेकाको पक्षमा भिड बढ्ने सामान्य चलन हो – कांग्रेसमा पनि यो कुरा लागु हुदैन भनेर भन्न सकिन्न । बाँकी त केहीबेरमा स्पष्ट हुनेनै छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्