निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न सकेन : ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले ‘बुथ क्याप्चर’ भएको ठाउँमा पनि निर्वाचन नदोहोर्‍याएर आयोगले आफ्नो कर्तव्य समेत निर्वाह गर्न नसकेको आरोप लगाए ।

“निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरूको समेत भूमिका निष्पक्ष, प्रभावकारी हुन सकेन । कानुनसम्मत र कर्तव्यनिष्ठ भूमिका पूरा गरे त्यस्ता निकायहरूले भन्ने अवस्था रहेन,” उनले भने, “धाँधली भएका ठाउँमा, बुथ क्याप्चर भएका ठाउँका सबै प्रमाणहरू छन् । तर, दोहोर्‍याएर निर्वाचन गरिएन ।”

उनले मृत्यु भएका मानिसका नाममा मत हालिँदा समेत आयोगले पुनः निर्वाचन गराउन नदिएर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जिकिर गरे । आयोगले त्यस्ता गतिविधिलाई रोक्नुपर्ने उनले उल्लेख गरे ।

उनले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशनानुसार चल्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिए । सच्चा जनप्रतिनिधिका रूपमा संसद्भित्र र बाहिर पनि वैचारिक रूपमा स्पष्ट र योजनाबद्ध ढंगले अघि बढ्न पार्टीका सांसदहरूलाई सचेत समेत गराए ।

पार्टीले देश र जनताको हितबाहेक अरू केही पनि नहेर्ने भन्दै उनले पार्टीका सांसदहरूले पनि आफ्नो पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशनलाई दृढताका साथ पालना गर्नुपर्ने बताए ।

कार्यक्रममा ओलीलाई सबैभन्दा धेरै लोकप्रिय मत ल्याएको भन्दै सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array