शपथपछि मात्रै संसदीय दलको नेता चयन गर्ने माओवादीको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिए । शपथपछि संसदीय दलको बैठक बस्ने उनको भनाइ छ ।

 माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुने उनको दाबी छ । ‘दलको नेतालाई लिएर हाम्रो पार्टीमा विवाद छैन, शपथ मात्र कुरिएको हो’, उनले भने, ‘संसदीय दलको नेता प्रचण्ड नै हो ।’

संघीय संसद् सचिवालयले यही पुस ७ गते प्रतिनिधिसभाका सदस्यलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । प्रतिनिधिसभामा माओवादीको १८ प्रत्यक्ष र १४ समानुपातिक गरी कूल ३२ सांसद छन् । केही दिनअघि बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array