काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले आफूहरूले उठाएका किसानका मुद्दा सम्बोधनको प्रतिबद्धता गर्नेलाई सरकार गठनमा सघाउने बताएका छन् ।
सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष राउतले आफूहरूले किसानको मुद्दा उठाएका मुद्दाहरू सम्बोधन हुनुपर्ने बताए ।
उनले आफ्नो पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिबद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताए ।
राउतले सरकार गठनका लागि कसैको पनि स्पष्ट बहुमत नआएको अवस्थामा सरकार गठनका लागि निकास दिनु आफूहरूको जिम्मेवारी भएको बताए ।
‘हामीले भर्खरै किसान आन्दोलन गरेर आएको हुनाले किसानका जुन मुद्दाहरू छ त्यसलाई सम्बोधन हुनुपर्छ । त्यसका साथै खासगरी शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दा जनमत पार्टीले टड्कारो रूपमा उठाइराखेको हुनाले त्यो रातारात त परिवर्तन हुने कुरा होइन । त्यसमा काम गर्ने वातावरण, त्यो क्षेत्रहरूमा सुधार गर्नको लागि काम गर्ने वातावरण बनाइदिने खालको प्रतिबद्धता जायर हुनुपर्यो,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्