काठमाडौँ – भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको छ । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको हो।
यो पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही घटाउने तयारी रहेको निगम स्रोतले जनाएको छ । ‘बोर्ड अध्यक्ष (वाणिज्य तथा आपूर्ति सचिव) देशबाहिर हुनुहुन्छ, उहाँ फर्किए लगत्तै बोर्ड बैठक बसेर केही न केही मूल्य समायोजन गर्नेछौं’ स्रोतले भन्यो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले मूल्य घटाएर पठाएको हो।
नेपालमा मूल्य नघटाउँदासम्म निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रुपैयाँ, डिजेलमा करिब १३ रुपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रुपैयाँ ऋण छ ।
विगतमा कच्चा तेलको मूल्य उच्च भएका बेला सोअनुरुप नेपालमा मूल्य समायोजन गर्न नसक्दा निगमको बक्यौता तथा ऋण रकम थपिएको हो ।


प्रतिक्रिया दिनुहोस्