काठमाडौँ – नेपाल धितोपत्र बोर्ड विरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइनेमा परेको छ। पुस १ गते शुक्रवार उक्त मुद्दाको पेसी न्यायाधीशद्वय अनिल कुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको थियो।
गएको असोज ३१ गते अधिवक्ता दीपकविक्रम मिश्रले तत्काल नयाँ ब्रोकर,नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए।
उक्त रिटमा गत कात्तिक ४ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन कारण देखाऊ अन्तरिम आदेश जारी गरेको थियो। रिट परे यता आठपटक उक्त मुद्दाको पेसी तोकी सकिएको छ। गत कार्तिक २९ गते न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले निर्णय फाइल झिकाउने आदेश गरेको थियो। त्यस यता तोकिएको सबै पेसी हेर्न नभ्याइनेमा परेका छन्।
धितोपत्र बोर्डले असोज २ गते नयाँ ब्रोकर,नयाँ स्टक र वस्तु विनियम बजार सञ्चालनका लागि आवेदन खुला गरेको थियो। अदालतले जारी गरेको कारण देखाऊ अल्पकालीन अन्तरिम आदेशका कारण सबै प्रक्रिया स्थगित छ।


प्रतिक्रिया दिनुहोस्