काठमाडौँ – धनगढी उपमहानगरपालिकाले प्लास्टिकका झोला प्रयोग गर्न निषेध गरेपछि व्यवसायी प्लास्टिकको विकल्प खोज्न थालेका छन्। नगर स्वच्छताका लागि भन्दै धनगढी उपमहानगरपालिकाले मंसिरदेखि प्लास्टिकका झोला बेच्न र सामान राखेर दिन बन्द रोक लगाएको छ।
उपमहानगरले प्लास्टिकका झोला बन्द गरेपछि कपडाका झोला छपाउन दिएको व्यवसायी चन्द्र जैशी बताउँछन्। प्लास्टिकको सट्टामा कपडाको झोला बनाएर ग्राहकलाई सामान दिने तयारी गरेको उनले बताए।
उपमहानगरपालिकाले विकल्प नदिँदा प्लास्टिकका झोला पटक हटाउन समस्या भएको होटेल व्यवसायी सुधिर भट्टले बताए। ‘प्लास्टिक बन्द गर्नु राम्रो हो,’ उनले भने, ‘तर प्लास्टिकको झोलाको सट्टामा के प्रयोग गर्ने भन्ने कुरा पहिला नै भनेको भए राम्रो हुने थियो, एकैपटक प्लास्टिक बन्द गर्दा ग्राहकले अर्डर गरेको सामग्री दिन समस्या भइरहेको छ।’
धनगढी उपमहानगरपालिकाले प्लास्टिकका झोलाको विकल्प व्यवसायी र उपभोक्ता आफैले खोज्नुपर्ने जनाएको छ। ‘प्लास्टिकको विकल्प व्यवसायीले आफैले खोज्नुपर्छ,’ मेयर गोपाल हमालले भने, ‘विकल्प उपमहानगरले दिँदैन।’
उपमहानगरको भदौ १ को कार्यपालिकाको बैठकले असोज १ गतेदेखि धनगढीमा प्लास्टिकका झोला तथा प्लास्टिकजन्य वस्तु बन्द गर्ने निर्णय गरेको थियो। असोज १ गते भनिए पनि एक महिनासम्म सूचना जारी गरेको थियो। प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सकिएपछि भने प्लास्टिकका झोला बिक्रीमा रोक लगाइएको छ।


प्रतिक्रिया दिनुहोस्