काठमाडौँ – देशैभरी धानको खरिद प्रक्रिया सुरु नगरे किसानहरुले खाद्य तथा ब्यापार कम्पनीमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्।
दुई दिनभित्र धान खरिद प्रक्रिया सुरु नभए शुक्रबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा तालाबन्दी गर्ने किसानहरुले चेतावनी दिएका हुन्। काङ्ग्रेस समर्थित नेपाल किसान महासंघ र एमाले समर्थित अखिल नेपाल किसान महासंघका मोरङ जिल्ला समितिले बुधबार पत्रकार सम्मेलन गर्दै तालबन्दीको कार्यक्रम अघि सारेका हुन् ।
मन्त्रिपरिषदको बैठकले गत कात्तिक १६ गते यस वर्षका लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो । जसअनुसार मोटा धानको प्रति क्विन्टल २ हजार ९६७ र मध्यम धानको ३ हजार १२८ रुपैयाँ छ ।
‘किसान आन्दोलनको दबाबका कारण धानको समर्थन मूल्य निर्धारण गर्नु स्वागतयोग्य विषय हो’, दुबै संस्थाले प्रकाशित गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘तर गत मंसिर तेस्रो सातासम्म पनि सरकारले धानको खरिदप्रक्रिया सुरु नगरेका कारण किसानहरू व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य छन्।’
सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा धानको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने उल्लेख गरेको छ । त्यस्तै यदि किसानले समर्थन मूल्यभन्दा कममा बिक्री गर्नुपरे त्यस्तो फरक मूल्यसमेत सोधभर्ना दिने सरकारी नीति रहेको पनि विज्ञप्तिमा बताइएको छ ।
दुबै संगठनले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ‘आफ्नै घोषणा र प्रतिबद्धताविपरीत धान खरिद नगर्नु सरकारको असक्षमताको पराकाष्ठा हो ।’
विज्ञप्तिमा कृषि क्षेत्र र किसानप्रति राज्यको यो तहको उपेक्षा किसानले कहिलेसम्म भोग्नुपर्ने हो भन्ने प्रश्न गरिएको छ । पत्रकार सम्मेलनमा मोरङको क्षेत्र नम्बर २ मा एमालेबाट नवनिर्वाचित सांसद् ऋषिकेश पोखरेलले सरकारको निर्णय कानुनसरह हुने बताए ।
सांसद् पोखरेलको भनाइ थियो, ‘समर्थन मूल्यभन्दा कम मूल्यमा धान खरिद व्यापारीले कानुन उल्लंघन गरेको ठहर्छ । त्यस्ता व्यवसायीलाई सरकारले दण्डित गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्