निफ्राको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ  – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले आज (मंसिर २९ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ बिक्री गर्न लागेको हो।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ। सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

- Advertisement -
Ad imageAd image

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ। निष्काशन बन्द छिटोमा पुस ४ गते हुनेछ भने ढिलोमा पुस १४ गते हुनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ। यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ। सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्