काठमाडौँ – फिफा विश्वकप २०२२ को सेमिफाइनलका खेलहरु आज मध्यरातबाट सुरु हुँदैछ।
नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुने खेलमा अर्जेन्टिनाले अघिल्लो पटकको उपविजेता क्रोएसियाको सामना गर्नेछ । दोहाको लुसेल रंगशालामा हुने खेलमा दुवै टोली फाइनल पुग्ने रणनीति अनुसार नै मैदान उत्रिनेछन् । अघिल्लो पटक उपविजेतामै सीमित भएको क्रोएसिया यसपटक फाइनल पुगेर उपाधि उचाल्ने दाउमा छ ।
सन् २०१४ को विश्वकपको फाइनलमा जर्मनीसँग १-० ले पराजित हुँदै उपविजेतामा सीमित भएको अर्जेन्टिना यसपटक च्याम्पियन बन्ने दाउमा छ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको करियरको अन्तिम विश्वकप भएकाले पनि मेसी आफ्नो टिमलाई उपाधि जिताउँदै अन्तर्राष्ट्रिय खेल जीवनलाई सुखद अन्त्य गर्न चाहन्छन् ।
अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौँ पटक विश्वकपको फाइनल पुग्ने दाउमा छ । अहिलेसम्म पाँच पटक फाइनल पुगेको अर्जेन्टिनाले दुई पटक विश्वकपको उपाधि जितेको छ ।
क्रोएसिया पनि लगातार दोस्रो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ । सन् २०१८ मा रुसमा भएको विश्वकपको फाइनलमा फ्रान्ससँग पराजित हुँदै क्रोएसिया उपविजेतामै सीमित भएकाले यो पटक फेरि फाइनल पुगेर उपाधि उचाल्ने दाउमा छ ।


प्रतिक्रिया दिनुहोस्