किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड वितरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०७९, आईतवार
2 Min Read
Aa

तुलसीपुर – दाङको तुलसीपुरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ। पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरेको जानकारी दिइएको । वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार ४० किसानलाई डेबिट कार्ड र १३ किसानलाई क्रेडिट कार्ड वितरण गरिएको छ।

सिसा परियोजना, सीमिट इन्टरनेशनल र आइडिइ नेपालको आर्थिक सहयोगमा मेगा बैंकले उक्त डेबिट र क्रेडिट कार्ड वितरण गरेको हो। डेबिट र क्रेडिट कार्डले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानलाई खुसीको कुरा भएको वडाध्यक्ष डाँगीको भनाइ थियो।

- Advertisement -
Ad imageAd image

अर्थाभावले कृषि खेतीमै प्रभाव पार्ने अवस्था आउन सक्ने भन्दै त्यसलाई न्यूनीकरण गर्न यसले भूमिका खेल्ने अध्यक्ष डाँगीको भनाइ छ। ‘क्रेडिट कार्डबाट किसानले मल, बीउलगायत अन्य कृषिसम्बन्धी सामग्री चाहियो भने लैजान सक्नुहुन्छ। यसले किसानलाई फाइदा पुग्छ,’ उनले भने।

क्रेडिट कार्ड प्राप्त किसानलाई बिना धितो राज्यले रु दुई लाखसम्म ऋण दिन्छ। सहुलियत कर्जाका रूपमा पाउने त्यो ऋण किसानले कृषि उत्पादन बिक्रीपछि प्राप्त गरेको रकमले पनि तिर्न सक्छन्। उनीहरूले त्यो ऋण कृषि सामग्री खरिदभन्दा अन्य कामका लागि प्रयोग गर्न पाउँदैनन्।

त्यस्तै डेबिट कार्डबाट किसानले अनुदान सहयोग, क्षतिपूर्ति हालिदिनका लागि प्रयोग हुनेछ। क्रेडिट कार्ड प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ भने डेबिट कार्ड पाँच–पाँच वर्षमा नवीकरण गर्नुपर्छ।

पहिलो चरणमा वडा नं १६ बाट वितरण गरिएको भए पनि सबै पालिकाका सबै किसानलाई उक्त कार्ड प्रदान गरिने सिसा परियोजनाका कार्यक्रम अधिकृत जङ्गबहादुर गुरुङले बताए ।

‘सुरुआत वडा नम्बर १६ बाट भयो, १३ मा पनि वितरण गर्ने तयारी गरेका छौँ। अब हामीले उपमहानगरपालिकासँग समन्वय गरेर सबै वडामा पुर्‍याउनेछौं,’ उनले भने। कार्ड पाएपछि किसान खुसी भएका छन्। आफूहरूले अनुदान पाउने गरी क्रेडिट कार्ड दिएपछि यसले थप सहज हुने किसान वीरबल केसीले बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: