निगमद्वारा पाँच चिनियाँ विमान बिक्रीको टेन्डर आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ मंसिर २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँँ – नेपाल वायुसेवा निगमले पाँच चिनियाँ विमान बिक्री गर्नको लागि टेन्डर आह्वान गरेको छ ।

निगमले गत मंगलबार एक सूचना जारी गर्दै  २ वटा एमए–६० र ३ वटा वाई १२ विमान बिक्रीका लागि टेन्डर आह्वान गरेको हो ।

यसअघि निगमले उक्त जहाजहरू भाडामा चलाउनको लागि टेन्डर आह्वान गरेको थियो । दुवैपटक टेन्डर नपरेपछि बिक्री गर्नको लागि टेन्डर आह्वान गरेको निगमले जनाएको छ ।

निगमले २ थान एमए ६० तथा ४ थान वाई १२ ई विमान प्राप्तिका लागि नेपाल सरकार, अर्थ मन्त्रालयसँग २०७० साल ११ महिना १४ गते सहायक ऋण सम्झौता भएको थियो ।

२०७१ साल वैशाख १० गते १ थान एमए–६० तथा १ थान वाई–१२ ई विमान अनुदान बापत प्राप्त भएको थियो ।

निगमले सो विमानको सञ्चालनमा प्रशिक्षक पाइलट समयमा नपठाउनु, तत्काल स्पेयर पार्ट उपलब्ध नगराउनु, स्पेयर पार्ट महँगो हुनु, धावन मार्गको मापदण्ड पूरा नहुनु, पाइलट तथा इन्जिनियरको महँगो तालिम खर्च र अत्यधिक बिमा प्रिमियम जस्ता समस्या देखाएर २०७७ साल साउन १६ देखि उडान बन्द गरेको थियो ।

निगमले तयार गरेको वित्तीय कार्यसम्पादन प्रतिवेदनअनुसार २०७१/७२ देखि २०७५/७६ सम्म सञ्चालन नोक्सानी ७७ करोड ७४ लाख रुपैयाँ र कुल नोक्सानी १ अर्ब ९० करोड ६९ लाख रहेको छ । निगमले २०७६/७७ को सञ्चालन नोक्सानी र खुद नोक्सानी विश्लेषण गरेको छैन ।

अहिलेसम्म चिनियाँ जहाजबाट निगमलाई आर्थिक बोझ भइरहेको छ । जहाज नउड्दा पनि ती जहाज उडानका लागि केही स्थायी पाइलट तथा कर्मचारीलाई तलब दिनुपरेको छ । यसैगरी जहाजको बिमा तथा पार्किङ शुल्क तिरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array