सहकारीले अब बिना धितो कर्जा प्रवाह गर्न नपाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ मंसिर २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – सहकारी संघ संस्थाहरूले अब विना धितो कर्जा लगानी गर्न नपाउने भएका छन् । बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार सहकारी संघ संस्था सञ्चालन, अनुगमन तथा लेखा परीक्षण सम्बन्धी मापदण्ड, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

बुधबार प्रदेश स्थित ललितपुरमा एक कार्यक्रमकाबीच मापदण्ड जारी गरेको प्रदेश सहकारी मन्त्रालयले सहकारीहरूले मनलाग्दी घर जग्गा जस्ता जोखिमपूर्ण क्षेत्रमा लगानी गर्ने गरेको, संस्थाको वित्तीय अभिलेख नियमित राख्ने नगरेको र लेखा परीक्षण समेत चुस्तदुरुस्त नहुँदा समस्या आएको निष्कर्ष निकालेको हो । सोही वेथितिलाई चिर्दै सहकारी शुद्धीकरणसँगै सुदृढीकरण र सबलीकरण गर्न समग्र प्रदेश भित्रका सहकारी संघ संस्थाको अनुगमन तथा नियमन गर्न मापदण्ड जारी गरिएको मन्त्री बलराम पौडेलले बताए ।
‘नेतृत्वदायी भूमिकामा, निकायमा जो कोही आओस् त्यसले कुनै अर्थ राख्दैन तर, नियत राम्रो भएको व्यक्ति आए त्यसले जनता र देशको लागि काम गर्छ’ मन्त्री पौडेलले भने, ‘गर्नुपर्ने काम धेरै नै बाँकी छन् तर आफ्नो कार्यकालमा एउटा राम्रो काम मापदण्ड बनाए जस्तो लाग्छ । यसले सहकारी क्षेत्रलाई व्यवस्थित गर्नेमा विश्वस्त छु’ उनले भने ।
सहकारी नियमन तथा लेखा परीक्षण मापदण्डले सहकारीको दर्ता प्रक्रियादेखि प्रकृति अनुसारको काम कारबाही, वित्तीय कारोबारको सीमा, क्षेत्राधिकारसँगै आन्तरिक लेखा परीक्षणलाई समेत व्यवस्थित गर्ने गरी नियम बनाएको छ । सोही व्यवस्था अन्तर्गतको परिच्छेद ४ को दफा ८ ले ऋण लगानी सम्बन्धी विधि बनाउँदै कर्जा प्रवाहलाई नियन्त्रण गर्न खोजेको हो ।

प्रतिक्रिया दिनुहोस्