काठमाडौं–
प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फको मत गणना सकिएसँगै ७ दल राष्ट्रिय पार्टि बन्न सफल भएका छन् । मत गणनाको काम सकिएको तर मत रुजु गर्ने काम भइरहेको निर्वाचन आयोगले बताएको छ । १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ र नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित समानुपातिक तर्फ पहिलो दल बन्न सफल भएको छ । एमालेले ३४ सिट पाउने छ ।
कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाउँदा ३२ सिट पाउने भएको छ । प्रत्यक्षतर्फ पहिलो दल भएपनि समानुपातिर्क तर्फ भने दोस्रो दल बन्न सफल भएको छ । समानुपातिक र प्रत्यक्ष दुवै जोड्दा भने कांगे्रस पहिलो दल बन्ने भएको छ ।
माओवादी केन्द्र समानुपातिकमा पनि र प्रत्यक्षमा पनि तेस्रो दल बन्न सफल भएको छ । माओवादीले ११ लाख ७५ हजार ६८४ मत पाउँदा १४ सिट पाउनेछ ।
माओवादीले अघिल्लो पटक १३ लाख ३ हजार ७२१ मत अर्थात १३.६५९० प्रतिशत मत पाएको थियो । उसले पनि करिव २ प्रतिशत विन्दुले समानुपातिक मत गुमाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपाातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको छ । यसअनुसार उसले १३ सिट पाउनेछ । अघिल्लो पटक थ्रेस होल्ड कटाउन नसकेको राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाउँदा समानुपातिकमा पनि ७ सिट नै पाउने देखिएको छ ।
तराई मधेश केन्द्रित दलमध्ये जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख २१ हजार ३१३ मत पाएर थ्रेसहोल्ड कटाएको छ र ५ सिट पाउनेछ ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले भने थ्रेस होल्ड नै कटाउन सकेन ।
पहिलो पटक संसदीय चुनाव लडेर सप्तरी २ मा उपेन्द्र यादवलाई हराएका सीके राउत नेतृत्वको पार्टी जनमत पार्टीले भने जसपाकै सरह ५ सिट पाउने भएको छ । उसले समानुपातिकतर्फ ३ लाख ९४ हजार ६५५ मत पाएको छ ।
७ दलले समानुपातिकको थ्रेस होल्ड (कुल सदर मतको ३ प्रतिशत) कटाएका छन्, प्रत्यक्षतर्फ पनि चुनाव जितेका ती पार्टीहरुले राष्ट्रिय दलको मान्यता पाउने छन् ।
प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा, ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टी र एक–एक सिट जितेको नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने थ्रेसहोल्ड कटाउन सकेनन् ।


प्रतिक्रिया दिनुहोस्