काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलार्य बुझाएका छन् । डडेलधुराका निर्वाचन अधिकृत करुणाकर अवस्थीका अनुसार आज देउवाले आफ्नो चुनावी खर्चको विवरण प्रतिनिधिमार्फत बुझाएका हुन् ।
देउवाले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका हुन् । प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायतका सात शीर्षकमा २६ लाख १२ हजार खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको हो ।
एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा आठ र दुईवटा प्रदेशसभामा १२ गरी २० जना उमेदवार रहेका थिए । उनीहरुमध्ये १४ जनाले निर्वाचन खर्च बुझाइसकेको अवस्थीले जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेस बीपीका उमेदवार कर्णबहादुर मल्लले १३ लाख आठ हजार, स्वतन्त्र उमेदवार कर्णबहादुर रावलले एक लाख १६ हजार, विक्रमबहादुर शाहीले दुई लाख दुई हजार १९० र राप्रपा उमेदवार गोविन्द खडायतले चार लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन् ।
अवस्थीका अनुसार डडेलधुरामा प्रतिनिधिसभातर्फ ३१ लाख, प्रदेश (१)को लागि २१ लाख र प्रदेशसभा (२) को लागि १९ लाख खर्चको सीमा तोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्