प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ५.८ प्रतिशतले वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ५.८ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ६६ अर्ब पुगेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश १ आर्थिक गतिविधि अध्ययनअनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा प्रदेश नं. १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ५.८ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ६६ अर्ब पुगेको हो ।

सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोवारमा भएको वृद्धि, तथा बैकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको देखिन्छ । प्रदेश नं. १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप मध्ये झापा, मोरङ र सुनसरीको हिस्सा ७७.२ प्रतिशत रहेको छ भने अन्य जिल्लाको २२.८ प्रतिशत रहेको छ । जिल्लागत निक्षेप संकलनको आधारमा मोरङ जिल्लाको योगदान सबैभन्दा बढी ३१.९ प्रतिशत र तेह्रथुम जिल्लाको सबैभन्दा कम १.३ प्रतिशत योगदान रहेको छ ।

२०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा १३.२ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ४४ अर्ब पुगेको छ । २०७९ असार मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा १०.० प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २२.३ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६७.७ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा कृषि कर्जाको हिस्सा ९.८ प्रतिशत, औद्योगिक क्षेत्रको हिस्सा ३०.६ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ५९.७ प्रतिशत रहेको थियो ।

प्रदेश नं. १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये झापा, मोरङ र सुनसरीमा प्रवाहित कर्जाको हिस्सा ८८.० प्रतिशत रहेको छ भने अन्य जिल्लाको १२.० प्रतिशत रहेको छ । जिल्लागत कर्जा प्रवाहकोआधारमा मोरङ जिल्लाको हिस्सा सबैभन्दा बढी ४२.० प्रतिशत र ताप्लेजुङ जिल्लाको हिस्सा सबैभन्दा कम ०.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्