सम्पत्ति शुद्धीकरण रोकथामको प्रभावकारिता मूल्यांकन आजदेखि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपालमा सम्पत्ति शुद्धीकरण रोकथामको प्रभावकारिताको मूल्यांकन (आज) सोमबारदेखि हुँदै छ । यसका लागि वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को एसिया प्रशान्त क्षेत्र हेर्ने एपिजी (एसिया प्यासिफिक ग्रुप) का सचिवालय प्रतिनिधिसहित १० सदस्यीय मूल्यांकन टोली ‘अनसाइट भिजिट’का लागि काठमाडौं आइसकेको छ ।

एफएटिएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानीमाथि निगरानी गर्ने तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य प्रवद्र्धन गर्ने अन्तर्राष्ट्रिय संयन्त्र हो । एपिजी टोलीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथाममा नेपालको प्रयास र त्यसको प्रभावकारिताको मूल्यांकन गर्नेछ ।

मूल्यांकनमा कमजोर देखिने मुलुकलाई एफएटिएफले खैरो (ग्रे) हुँदै कालोसूचीमा राख्छ । कालोसूचीमा रहे त्यसले मुलुकको वित्तीय प्रणाली, व्यापार, लगानी मात्र होइन वैदेशिक ऋण, सहायता र लगानीमा समेत नकारात्मक असर पार्छ ।

सम्पत्ति शुद्धीकरण रोकथाम सम्बन्धमा नेपालको मूल्यांकनका लागि एपिजी टोली दोस्रोपटक नेपाल आएको हो । यसअघि गत २६, २७ र २८ असोजमा एपिजीको प्राविधिक टोली नेपाल आएको थियो । सो टोली फर्किसकेपछि प्रभावकारिता हेर्न टोली आएको हो । यो टोलीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथामका लागि नेपालले गरेको प्रयास प्रभावकारी भए–नभएकोबारे अध्ययन गर्नेछ ।

टोली यो महिनाभरि नेपालमै रहने छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी नियन्त्रणका लागि गरेका कार्य, मुद्दा दायर, कानुन र संरचनाबारे एपिजी टोलीलाई अघिल्लोपटक नै नेपालले जानकारी गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्