इन्डोनेसियाको सेमेरु पहाडबाट ज्वालामुखी विस्फोट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – इन्डोनेसियाको माउन्ट सेमेरुको ज्वालामुखी पहाडबाट विस्फोटन हुन थालेको छ । त्यहाँबाट निस्केको खरानीले आकाश ढाकिएको छ भने मुलुकको मुख्य टापु जावाबाट मानिसहरूलाई अन्यत्र सुरक्षित गन्तव्यतर्फ लैजाने काम भइरहेको छ ।

स्थानीय प्रशासनले ज्वालामुखीको चेतवानीको स्तर अत्यन्तै उच्च स्तरमा प्रवाह गरेको छ । अहिलेसम्म त्यहाँबाट निस्केको लाभाका कारण कोही पनि घाइते भएको खबर प्राप्त भएको छैन ।

तर, झन्डै दुई हजार व्यक्तिलाई ज्वालामुखी प्रभावित क्षेत्रबाट विस्थापित गरिएको छ । राष्ट्रिय विपत्ति रोकथाम निकायले ती गाउँबाट अन्यत्र लगिएकाहरूमा बालबालिका तथा वृद्धहरू पनि रहेको जनाएको छ ।

मानिसहरूलाई सेमेरु पहाडबाट कम्तीमा आठ किलोमिटर टाढा रहन सल्लाह दिइएको छ ।

इन्डोनेसियाको ज्वालामुखीशास्त्र तथा भौगोलिक विपत्ति रोकथाम केन्द्रका प्रवक्ताले खतराको स्तर ३ देखि ४ निर्धारण गरिएबाट मानिसहरूका घर खतरामा परेको बुझिएको बताएका छन् ।

यसअघिको ज्वालामुखी विस्फोटको कारण क्षतिग्रस्त भएको त्यहाँको एउटा पुल अहिले पुनःनिर्माण भइरहेको छ ।

ज्वालामुखी पहाड वरपरका गाउँमा अहिले मनसुनी वर्षा पनि भइरहेको छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

Array