हामी गठबन्धनकै पक्षमा छौँ, दायाँबायाँ गर्ने स्थितिमा छैनौ: प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन नटुट्ने स्पष्ट गरेका छन् । पार्टीको आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकमा प्रचण्डले सत्ता गठबन्धन दायाँबायाँ नहुने स्पष्ट गरेका हुन् ।

उनले सत्ता गठबन्धनका चार दल र लोसपासहित मिलेर चुनाव लगिएको स्मरण गर्दै गठबन्धन र तालमेलको भावनाअनुसार नै नयाँ सरकार बन्ने बताएको एक नेताले जानकारी दिएका छन । ती नेताका अनुसार गठबन्धनबाट पार्टी दायाँबायाँ नहुने भएकाले सोहीअनुसार आफ्नो गतिविधि गर्न पनि नेताहरूलाई निर्देशन दिएका छन् ।

- Advertisement -
Ad imageAd image

‘हामी गठबन्धनकै पक्षमा छौँ र हुन्छौं’, प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने, ‘हामी गठबन्धन भन्दा दायाँबायाँ गर्ने स्थितिमा छैनौ । यसरी जाँदा कसैले लाञ्छना लगाउने भन्ने पनि हुँदैन । यो कुरालाई तपाईँहरुले चिरेर जानुस् ।’

शनिबार माओवादीले एमालेसँग सहकार्य गर्नसक्ने भनेर बाहिर मेसेज गएपनि पार्टी त्यो अवस्थामा नपुगिसकेको प्रचण्डले बैठकमा बताएका थिए ।

बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि पार्टीले हाल कायम रहेको गठबन्धनको विकल्प खोजिनसकेको स्पष्ट पारे ।

उनले पार्टीको पदाधिकारी बैठकमा चुनावकै विषयमा छलफल केन्द्रित भएको पनि जिकिर गरे । ‘सरकारका विषयमा छलफल प्रवेश भएको छैन । माओवादीसहितको गठबन्धन भएकाले पहिला गठबन्धन घटकहरुबीच कुराकानी हुने कुरा भयो’, उनले भने, ‘छिट्टै गठबन्धनको बैठक बसेर अघि बढिन्छ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्