कैलालीमा छात्रा मृत्यु प्रकरण: तनाव सामान्य नभएपछि निषेधाज्ञा जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–
जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । दुर्घटनामा छात्राको मृत्यु भएको विषयलाई लिएर उत्पन्न भएको तनाव सामान्य नभएपछि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
बिहीबार विहान साइकल चढेर विद्यालय जाँदै गरेकी १५ वर्षकी चाँदनी साउदलाई सडक सम्याउँदै गरेको ग्रेडरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि स्थानीय वासिन्दा र पद्मोदय माध्यमिक विद्यालय हसनपुरका विद्यार्थीले दिनभर प्रदर्शन गर्ने भएका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रदर्शनका क्रममा भएको अराजक गतिविधि नियन्त्रण गरी सर्वसाधारण नागरिकको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गर्न बिहीबार साँझ ७ बजेदेखि शुक्रबार विहान ७ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन् ।

लगाएको प्रतिबन्धमा ५ जना भन्दा बढी भेला हुन नपाउने आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन नपाइने उनले बताएका छन् । पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी उपमहानगरपालिका–४ रातोपुल, उत्तरमा धनगढी उपमहानगरपालिका–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन दक्षिणमा धनगढी उपमहानगरपालिका–१ र २ स्थित हुलाकी राजमार्गको चारकिल्लाभित्र निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array