काठमाडौं – रुपन्देहीको बेलहिया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन । विगत दुई वर्षदेखि प्रधानाध्यापक हुँदाहुँदै हालै सरुवा भई आएका शिक्षकलाई जबर्जस्ती प्रधानाध्यापक बनाइएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी र अभिभावकहरूले विद्यालयमा ताला लगाएका छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बेलहियास्थित विद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापकको विषयलाई लिएर पटकपटक विवाद हुँदा विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको थियो । १५ वैशाख ०७७ बाट निमावि तहको राहततर्फका शिक्षक इलियास खान प्रधानाध्यापक भई जिम्मेवारी सम्हाल्दै आएका थिए ।
विद्यालयको विकासमा धेरै योगदान गरेको र शैक्षिक सुधार भएको भन्दै पहिलाको प्रअलाई नै जिम्मेवारी दिनुपर्ने स्थानीय सवित्री गुरुङले बताइन् । अर्का अभिभावक बासुदेव आचार्यले शिक्षा जस्तो संवेदनशील ठाउँमा भ्रष्टाचार गर्ने जोकोहीलाई निस्कासित गर्नुपर्ने, बालअधिकारको हनन गर्ने र परीक्षाको मुखमा आएर गलत व्यक्तिलाई जिम्मेवारी दिन लागेको भन्दै यथाशीघ्र सच्चयाउनुपर्ने बताए ।
जिम्मेवारी दिन लागेका शिक्षकले अनाहकमा विद्यार्थीलाई यातना दिने गरेको फुलमति हरिजनले बताइन् । अरु विद्यालयमा उनले गरेको गतिविधिका कारण त्यस्तो व्यक्तिबाट अध्ययन गराउन नहुने उनको तर्क छ ।
अभिभावक र विद्यार्थीहरुले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र क्षेत्रीलाई समेत अनियमितता गरेको आरोप लगाएका छन् । उनले विद्यालयको सम्पत्ति व्यक्तिगत रूपमा प्रयोग गरेका छन् । उनले विद्यालयमा हाँस, कुकुर पालेको बताइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रीले आफूले भन्दा पनि नगरपालिकाको शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले प्रअको जिम्मेवारी दिएको बताए । आफूले कुनै अनियमिततता नगरेको बताउँदै उनले सावित भए कारवाही भोग्न तयार रहेको उनको भनाइ छ । सिद्धार्थनगर नगरपलिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्साललाई यस विषयमा सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।


प्रतिक्रिया दिनुहोस्