काठमाडौँ – नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । तर संसदीय दलको नेताको बन्छ भन्ने विषयमा भने उनी खुलेर बोल्न चाहेनन् ।
विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले संसदीय दलका सभापति शेरबहादुर देउवा टिमको बर्चस्व भएपनि संसदीय निर्वाचनमा आफ्नो टिमले प्रयास भने गर्ने बताए ।
‘नम्बर गेममा यसै हेर्दा शेरबहादुरजीकै बर्चस्व छ भन्ने देखिन्छ,’ उनले भने, ‘हामी कसरी जाने म शेरबहादुरजीसँग पनि कुरा गर्छु, पार्टीको सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्तिले अगाडि बढ्न पनि हुँदैन जस्तो लाग्छ, अन्य साथीहरुसँग पनि कुरा गर्छौं ।’
शेखर कोइरालाको टिमबाट महामन्त्री जितेका गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी आक्रामक रुपमा अगाडि बढिरहेका छन् । तर कोइरालाले भने खुलेर बोलेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्