कालिञ्चोक दर्शनको आईपीओ आजबाट, वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिन पाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – कालिञ्चोक दर्शन लिमिटेडले आज (मंसिर १४ गते बुधवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दामा निष्कासन गर्नेछ । जारी पूँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्नेछ ।

- Advertisement -
Ad image

आयोजना प्रभावित स्थानीयमा निष्कासन हुने यो आईपीओ छिटोमा मंसिर २८ गते र ढिलोमा पुस १४ गतेसम्म बिक्रीमा रहनेछ । वैदेशिक रोजगारीमा गएका नेपालीले भने मंसिर २८ गतेभित्रै आवेदन दिनुपर्नेछ । दुवै समूहका लगानीकर्ताका लागि यो आईपीओ खरिदमा न्यूनतम १० कित्ताको सीमा तोकिएको छ । स्थानीयले अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम १० हजार ८०० कित्तासम्म माग गर्न सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले दायित्व वहन गर्न सक्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेगा बैंक, सेञ्चुरी बैंक दोलखाको तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट यो आईपीओ खरीद गर्न सकिने व्यवस्था छ ।

यस कम्पनीले दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३ हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केबलकार सञ्चालन गरिरहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्