एमसीसी परियोजनाको प्रसारणलाइन निर्माणका लागि ठेक्का आह्‍वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं–
मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसीए –नेपाल) ले विद्युत प्रसारणलाइन निर्माण गर्न सोमबार लप्सीफेदी–रातमाटे– बुटवल प्रसारणलाइन निर्माणका लागि तीनवटा लटमा ठेक्का निकालेको छ । अहिले प्रसारणलाइनको लागि ठेक्का निकालिएको र दोस्रो चरणमा सवस्टेसनका लागि ठेक्का निकाल्ने तयारी गरेको छ । करिब एक महिनाभित्र दोस्रो चरणमा निकालिने बताइएको छ ।
लप्सीफेदी–रातमाटे (न्यु हेटौंडा पहिलो लट ९११७ किमि), दोस्रो लटमा रातमाटे–न्यु दमौली (९० किमि) र तेस्रो लटमा न्यु दमौली–न्यु बुटवल, न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किमि) गरी कुल ३१५ किलोमिटर रहेको छ । इच्छुक कम्पनीले २७ मार्चसम्म आवेदन दिन सक्ने उल्लेख छ । यो ठेक्का पाउने कम्पनीले डिजाइन,सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेष्टिङ र कमिसनिङ गर्नु पर्नेछ। आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन भने एमसीए–नेपालले उपलब्ध गराउन तयारी गरिसकेको छ । सन् २०२३ को अगष्टबाट निर्माणको काम सुरु गरी ५ वर्षमा अर्थात २०२८ अगष्ट पुरा गरिसक्नु पर्ने छ ।
निर्माण कम्पनीका लागि डिजाइनसहित साढे तीन वर्षको अवधि रहेको र बीचमा कुनै समस्या आए समाधानका लागि थप समय छुट्याइएको एमसीए–नेपालले बताएको छ ।
प्रस्तावित आयोजनामा कुल ८५६ वटा टावर निर्माण हुने क्रममा २ लाख १२ हजार रुखहरु काट्नुपर्ने छ । सरकारी र निजी गरी ८ सय रोपनी जग्गा चाहिने अनुमान गरिएको छ। अहिले रुख कटानको स्वीकृति र अधिग्रहणको प्रक्रिया अघि बढिसकेको छ ।
यो प्रसारणलाइन काठमाडौं–सिन्धुपाल्चोक–नुवाकोट–धादिङ–मकवानपुर–चितवन–तनहुँ–पाल्पा–नवलपुर–परासी हुँदै जानेछ। ४०० केभीको डबल सर्किट यो प्रसारणलाइनले ३००० मेगावाटसम्म विद्युत वहन गर्न सक्ने क्षमताको हुने बताइएको छ । निर्माणपछि अहिले संचालनमा रहेको ढल्केबर–मुजफ्फरपुर पछिको दोस्रो अन्तर्देशीय प्रसारणलाइन हुनेछ । नेपाल–भारत विद्युत व्यापारको आयतन बढाउन यो प्रसारणलाइन महत्वपूर्ण हुने बताइएको छ ।
आयोजनामा बोटेक जेभीले परामर्शदाताका रुपमा काम गरिरहेको छ। अहिले प्रसारणलाइनको विस्तृत सम्भाव्यता अध्ययन, एलाइन्टमेन्ट सर्भे, विवाद आएका ठाउँमा वार्ता गरेर रि–सर्भे गर्ने लगायतका कामहरु अन्तिम चरणमा चलेको आयोजनाका अधिकारीहरुले बताए। २२८ मिलियन डलर (२९ अर्ब ६४ करोड रुपैयाँ) प्रसारणलाइन र ११४ मिलियन डलर (१४ अर्ब ८२ करोड रुपैयाँ) सवस्टेसनका लागि खर्च हुने एमसीए–नेपालले जनाएको छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्