तीन जिल्लाबाहेकको मत परिणाम मंसिर १३ गतेसम्म आइसक्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ मंसिर २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ।

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ। निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ।

त्यस्तै नेकपा (एमाले) ४१ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ। नेकपा (माओवादी केन्द्र) ले १७, नेकपा (एकीकृत समाजवादी) ले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात(सात, जनता समाजवादी पार्टी नेपालले छ स्थानमा जित हासित गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ। स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन्।

बाँकी स्थानको केही विवादका कारण निर्वाचन र मतगणनामा भएको ढिलाइ तथा मतगणना स्थागितका कारण समयमै नतिजा आउन सकेको छैन। बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरु सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आज साँझ अथवा भोलिसम्म आइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

हाल प्रत्यक्षसँगै समानुपातिकको पनि मतगणना जारी रहेकाले उक्त तीन जिल्लाबाहेकको सबै मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने उनले बताए।

बाजुरा, दोलखा र स्याङ्जामा देखिएको समस्याका सम्बन्धमा आयोगले आवश्यक निर्णय गरी यथाशीघ्र सबै मतपरिणाम आइसक्ने आयोगको दाबी छ। अन्तिम मतपरिणाम प्राप्त भएपछि त्यसको सम्पूर्ण विवरण आयोगले राष्ट्रपतिलाई बुझाउने कानुनी प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

Array