हार निश्चित भएपछि सञ्चारमन्त्री कार्कीले मतगणना अवरुद्ध पारेको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ मंसिर २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – सुनसरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा पदको उमेदवार रहेका नेकपा (एमाले) का नेता जगदीश कुसियैतले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हार्ने निश्चित भएपछि बखेडा झिकिएको आरोप लगाएका छन् ।

उनले मतगणना कार्य अवरुद्ध गरेर कार्कीले बखेडा झिकेको आरोप लगाएका हुन् । मन्त्री कार्कीले हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिइएको उनको जिकिर छ ।

शनिबार अपराह्न सञ्चारमन्त्री कार्कीले गणनाका क्रममा धाँधली भएको भन्दै पुनः मतगणना गर्नुपर्ने माग गरेका थिए । त्यसपछि मतगणना रोकिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलीय सहमति जुटाएर मतगणना पुनः सुरु गराउन आइतबार सर्वपक्षीय बैठक बोलाएको थियो । बैठकमा मन्त्री कार्कीले पुनः मतगणना हुनुपर्ने अडान राखे । अझै मतगणना कार्य अघि बढ्न सकेको छैन ।

एमालेका उमेदवार कुसियैतले बाँकी रहेको मतगणना कार्य तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरिएको बताए । आफ्नो सो अडान कानुनसम्मत भएको भन्दै त्यसबाट पछि हट्न नसकिने उनले बताए ।

“यहाँ हाम्रो भनाइ के हो भने मतगणना जहाँ रोकिएको छ, त्यसलाई सुचारु गरौँ । बाँकी रहेको मतगणना अविलम्ब सुरु गरौँ । तर, माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूको भनाइ के हो भने अहिले निर्वाचन आयोगले गरेको मतगणना र उसले जुन सूचना प्रकाशित गरेको छ, त्यसलाई क्यान्सिल गरेर रिमतगणना गरौँ भनेर उहाँको जिकिर हो । त्यसैमा हाम्रो डिबेट चलिराखेको छ,” उनले भने, “एमालेको कानुनसम्मत अडान हो । हामीले कानुनलाई हातमा लिन खोजेका छैनौँ । एमालेले स्पष्ट के भनेको छ भने कानुनमा के भन्छ, जो मतगणना भयो । त्यसलाई छोडौँ । बाँकी रहेको मतगणना सुरु गरौँ । उहाँले सायद मानसिक रूपमा हार स्वीकार गरिसक्नुभएको छ । म हारिरहेको छु, त्यो हारलाई कसरी बचाउने भनेर उहाँले बखेडा झिक्नुभएको मात्रै हो ।”

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षका उमेदवारहरूबीच सहमति जुटाएर पुनः मतगणना सुरु गराउन पहल भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array