मतगणना हुन नसकेका ३ जिल्लामा निर्वाचन आयोगले छानबिन टोली पठायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको धैरै जिल्लाको परिणम आइसकेको र केहि जिल्लाको मतगणना कार्य अन्त्यतिर आइपुग्दा पनि बाजुरा, दोलखा र स्याङजामा अझै मतगणना हुन सकेको छैन । उक्त ३ जिल्लामा निर्वाचन आयोगले छानबिन टोली पठाएको छ । आयोगले सहसचिव तहको कर्मचारीको नेतृत्वमा छानबिन टोली पठाएको आयोगले जानकारी दिएको छ । छानबिन टोलीले प्रतिवेदन दिएपछि प्रतिवेदनका आधारमा आयोगले आवश्यक निर्णय गर्ने बताइएको छ ।
बाजुराको बुढीनन्दा ५ लगायत जिल्लाका दुई दर्जन मतदान केन्द्रमा विवाद र झडप भएको थियो । सो जिल्लामा भएको एक मतदान केन्द्रको झडपमा परी कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका कार्यकर्ता सञ्जिव ऐडी र एमालेको विद्यार्थी संगठनका नेता चेतन ऐडीको निधन समेत भएको हो । बुढीनन्दामा शनिबार पुनः मतदान गराउन निर्वाचन आयोगले निर्देशन दिएपनि एमालेको अवरोधका कारण जिल्ला निर्वाचन अधिकृतको कार्यालयले शनिबार निर्वाचन गराउने वातावरण नबनेको बताइएको छ ।
दोलखामा एमालेले मतगणना कार्यमा सहभागी नहुने भन्दै पुनः मतदानको माग गरेको छ । जिल्लाका विभिन्न ६ मतदान केन्द्रमा बुथ कब्जा भएको एमालेको आरोप छ । दोलखाबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्यूरो सदस्य पार्वत गुरुङले बुथकब्जा भएका मतदान केन्द्रमा पुन मतगणनाको माग गर्दै निर्वाचन आयोगलाई निवेदन दिएका थिए ।
यस्तै स्याङजामा पनि बुथ कब्जा भएको भन्दै एमालेले मतगणना अघि बढाउन दिएको छैन । जिल्लाका विभिन्न ४ मतदान केन्द्र कब्जा गरेर मत हालेकोले ती बुथमा फेरि निर्वाचन गर्न एमालेको माग छ । एमाले सचिव समेत रहेकी उम्मेदवार पद्मा अर्यालले सत्ता गठबन्धन दलले बुथ कब्जा गरेको आरोप लगाउँदै पुनः मतदान गराउन माग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

Array