काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । देशभित्र खपत गरी धेरै भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ ।
थप २३.५ मेगावाट निर्यात अनुमति
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत् निर्यातका लागि अनुमति पाएको छ । भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो ।
प्राधिकरणले अब ८ जलविद्युत् केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत् भारतीय आईएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ ।


प्रतिक्रिया दिनुहोस्