गृहमन्त्री बालकृष्ण खाणले बहुविवाह गरेकोले उनको उम्मेदवारी रुद्ध गर्न माग गर्दै रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही-३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् ।
उजुरी दर्ता गरेपछि बरालले भनिन्, ‘खाण बहुविवाहमा संलग्न रहेको प्रमाण पाइएकाले उजुरी दर्ता गरेको हो, उनले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौं जेलमा सडाउने काम गर्नुभएको छ, देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाण, काठमाडौंमा मञ्जु खाण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ ।’
खाणले रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयनका क्रममा रुपन्देही–३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेको विवरणमा दिलमाया खाण श्रीमती भएको उल्लेख गरेका छन् भने त्यसबाहेक अरु निकायमा पेस गरेका कागजातमा भने उनले श्रीमतीका रुपमा मञ्जु खाणको नाम लेखेका बरालको दाबी छ ।
रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरी लिएको छ । यसअघि बहुविवाहको आरोपमा एक उम्मेदवारको उम्मेदवारी खारेज भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्