काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरुले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न अपील गरेका छन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार संयुक्त अपील जारी गर्दै निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा लिएर लोकतान्त्रिक–वाम गठवन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउन आह्वान गरेका हुन्।
संविधानमाथि प्रतिगनकारी र अधिनायकवादी आक्रमणको खतरा बढेपछि गठबन्धन बनेको उनीहरुको भनाइ छ।
‘देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लंघन गरी दुई–दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुँदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको विदितै छ, ‘ संयुक्त अपीलमा भनिएको छ, ‘यो गठबन्धनको सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा कायम रहेका कारण स्थानीय निर्वाचन र यो आम निर्वाचनमा समेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएका हुन्।’
आगामी निर्वाचनमा गठबन्धनको जित सुनिश्चित भइसकेको उनीहरुको दाबी छ। ‘नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक–वाम गठबन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ताहरु उत्साहित भएर सहभागी हुनु भएबाट गठबन्धनको विजय सुनिश्चित रहेको हामीले महसुस गरेका छौँ,’ संयुक्त अपीलमा उल्लेख छ।
गठबन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावनाअनुरुप राजनीतिक स्थायित्व दिने सत्ता गठबन्धनको दाबी छ।


प्रतिक्रिया दिनुहोस्