बर्खास्त गर्नुको चित्तबुझ्दो जवाफ नपाए मुख्यमन्त्रीका गलत क्रियाकलाप सार्वजनिक गर्छु: मन्त्री खड्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – गण्डकी प्रदेशका बर्खास्तमा परेका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका गलत क्रियाकलापका सनसनीपूर्ण अडियो सार्वजनिक गर्ने चेतावनी दिएका छन।

बर्खास्तमा परेको दुई दिनपछि पत्रकार सम्मेलन गरेर खड्काले मुख्यमन्त्री संलग्न गलत क्रियाकलाप सार्वजनिक गर्ने बताएका हुन्।

- Advertisement -
Ad imageAd image

‘मैले के अपराध गरे र मलाई बर्खास्त गरियो,’ उनले भने, ‘यसको चित्तबुझ्दो जवाफ मुख्यमन्त्रीले नदिए म उहाँको गोप्य अडियो, भिडियो सार्वजनिक गर्दिन्छु।’ उनले चुनाव अघि नै सार्वजनिक गर्दा चुनावमा पार्टीलाई असर पर्ने भएकाले चुनावपछि उक्त अडियो भिडियो सार्वजनिक गर्ने बताए। त्यसोभए मुख्यमन्त्रीले चित्त बुझ्दो जवाफ दिएमा उक्त अडियो–भिडियो लुकाईराख्ने हो भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने, ‘यसबारे म थप बोल्दिन। तर बार्गेनिङ गर्नका लागि मात्र भनेको होईन।’ तर आफ्नो अन्तिम सास जानुअघि अडियो, भिडियोबारे खुलासा गरेरै छाड्ने उनले बताए।

खड्काले आफूलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने कारण आफूले थाहा नपाएको बताए। तर कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले लगाएको आरोप र मुख्यमन्त्रीले उनको क्षेत्रमा पर्ने माईतीघाटमा एक अर्ब रुपैयाँ लागतको पुल बनाउन खोज्दा आफूले विरोध गरेपछि त्यसको रिस फेरेको हो कि भन्ने आफूलाई आशंका रहेको उनले बताए। उनले पूर्व पदाधिकारीलाई सुविधा दिने विषयमा पनि आफूले अब्जेक्सन गरेकाले त्यसको प्रतिशोध मुख्यमन्त्रीले साँधेको हुनसक्ने पनि बताए।

उनले भने, ‘चुनावलगत्तै पूर्व पदाधिकारीलाई सुविधा दिने प्रस्ताव आउँदैछ। त्यस विरुद्धमा मसहित अन्य दुईजना मन्त्री थियौं र त्यो प्रस्ताव आए पदबाट सामुहिक राजिनामा दिने भनेका थियौं। त्यसलाई रोक्न पनि मलाई बर्खास्त गरिएको हुनसक्छ।’

खड्काले मन्त्री थापा कास्की–२ को (२) मा अलोकप्रिय रहेको दाबी गरे। ‘मैले वडामा बजेट हाले, त्यहि विषयलाई लिएर थापाले मलाई वडामन्त्री भन्ने आरोप लगाए,’ उनले भने, ‘उनले वडामा बजेट हालेनन, त्यो बजेट लगेर आफ्नो घर अगाडि बाटो लैजान, आफूले प्लटिङ गरेको जग्गामा बाटो बनाउन लगे।’ त्यसैले थापा आफ्नो क्षेत्रमा अलोकप्रिय भएको उनको दाबी छ।

खड्काले आफूलाई बर्खास्त गरेर अपमान गरेपनि कांग्रेस पार्टी नछाड्ने बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्