काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताएका छन् ।
उनले आज एक भिडियो सन्देश जारी गर्दै मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गरेका छन् ।
उनले सन्देशमा भनेका छन्, “निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व हो । जहानियाा राणा शासनविरुद्धको आन्दोलनदेखि अहिलेसम्म मुलुकले राजनीतिक संघर्षको चरण पूरा गरिसकेको छ । अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्नेछ ।”
“हाम्रा युवा प्रविधि र ज्ञानमा उत्कृष्टता हासिल गर्दै छन् । उनीहरूको ज्ञानको कदर हुने गरी आगामी दिनमा हामी नयाँ सोचका साथ अघि बढ्नेछौँ । हाम्रा शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्त–दुरुस्त पार्ने परिपाटीको विकास गर्नेछौँ,” प्रधानमन्त्री देउवाले भनेका छन् ।
उनले दुईपटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको कुरा सबैमा जगजाहेर नै रहेको उल्लेख गर्दै सहमति र सहकार्यको जगमा गठबन्धनको सरकार गठन भएको र त्यही सूत्रका आधारमा मुलुकलाई अघि बढाउन आफूहरू दृढ रहेको जानकारी गराएका छन् ।
प्रधानमन्त्री देउवाले यही मंसिर ४ गते निर्वाचनमा उत्साहपूर्वक सहभागी भई प्रत्यक्षतर्फ कांग्रेस नेतृत्वको गठबन्धनका उमेदवारको चुनाव चिह्नमा र समानुपातिकतर्फ कांग्रेसको रुख चिह्नमा अमूल्य मतदान गर्न सबै मतदातालाई आग्रह गरेका छन् ।
उनले आफूहरू कुरा होइन, काम गर्छौँ भन्नेमा विश्वास दिलाउँदै मतदानलाई लोकतन्त्रको उत्सवका रूपमा लिन सबैलाई हार्दिक अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्