वैदेशिक रोजगारका सेवा अनलाइनबाटै लिन मन्त्रालयको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयबाट प्रवाह गरिने सबै सेवाहरू अनलाइनबाटै लिन सेवाग्राहीलाई आग्रह गरेको छ ।

भौतिक रूपमा उपस्थित हुन नपर्ने गरी देश तथा बिदेशबाटसमेत अनलाइन सेवा लिन सकिने व्यवस्था मिलाइएको जनाउँदै मन्त्रालयले लाग्ने दस्तुरसमेत अनलाइन प्रणालीबाट भुक्तानी गर्न सकिने भन्दै सो आग्रह गरेको हो ।

- Advertisement -
Ad imageAd image

साथै सेवाग्राहीका नाममा बिचौलियाहरूले कर्मचारीलाई अनेकन प्रलोभनमा पारी बदनामित गर्न खोजेको प्रति मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।

विधि र प्रक्रिया नमिलेका कामहरू गराउन दबाबसमेत दिने गरेको जनाउँदै मन्त्रालयले भनेको छ सेवाग्राहीको नाममा बिचौलियाहरू कार्यस्थलमा प्रवेश गरी कर्मचारीहरूलाई कार्यसम्पादनमा असर गर्ने, विधि र प्रक्रिया नमिलेका कामहरू गर्न अनेकन दबाब दिने, प्रलोभनमा पार्न प्रयत्न गर्ने र आफ्नो निहित स्वार्थ पुरा नहुँदा कार्यालयको कामकारबाहीप्रति नकारात्मक टिप्पणी र मिडियावाजी गर्ने प्रवृत्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

यससँगै वैदेशिक रोजगार विभाग र कार्यालयहरूबाट हुने सेवा प्रवाहको मन्त्रालय स्तरबाट निरन्तर प्रणालीमार्फत तथा स्थलगतरुपमा अनुगमन भइरहेको पनि मन्त्रालयको भनाई छ । मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकमा विभागीय प्रमुखहरूको उपस्थितिमा सेवा प्रवाह र गुनासो सम्बोधन सम्बन्धमा सघनरुपमा छलफल गरी सोको निराकरण गर्ने व्यवस्था गरिएको मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता डा. थानेश्वर भुसालले बताए ।

उनले अनलाइनबाट प्राप्त हुने सेवाका लागि भौतिक रूपमा कार्यालयमा उपस्थित भई भिडभाड गर्ने र अनावश्यक समस्या सिर्जना गर्ने काममा संलग्न नहुन तथा सेवा प्रवाहको क्रममा बिचौलिया वा अन्य कुनै व्यक्तिको प्रभावमा नपर्न अनुरोध गर्दै अनलाइन माध्यमबाट नै सबै प्रकारका सेवा आ आफ्नो स्थानबाट प्राप्त गर्न सबैलाई अनुरोध गरे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्