नेपालले युएईलाई तीन विकेटले हरायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
3 Min Read
Aa

काठमाडौँ – मध्यक्रमका ब्याट्सम्यानले संहालिएको ब्याटिङ गरेपछि नेपालले एकदिवशीय क्रिकेट  अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा युएईमाथि ३ विकेटको जित हात पारेको छ ।

यो जितसँगै नेपालले तीन खेलको शृंखला १–१ को बराबरी गरेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तेस्रो र निर्णायक खेल आउदो शुक्रवार हुदैछ ।

त्रिवि मैदान कीर्तिपुरमा युएईले दिएको १९२ रनको लक्ष्य ७ विकेट गुमाएर भेट्टाउँदा मध्यक्रमका कुशल भुर्तेल, गुल्सन झा र आरिफ शेखले संहालिएर ब्याटिङ गरे । १९२ रनको सामन्य लक्ष्य नेपालले ४७.५ ओभरमा पुरा गर्‍यो  ।

नेपालको शुरुवात सुखद रहेन । पहिलो खेलमा अर्धशतक बनाएका ओपनर अर्जुन साउद पहिलो ओभरमै रनको खाता नखोली आउट हुँदा अर्का ओपनर आसिफ शेखले पनि ६ रनमात्र बनाउन सके ।

यस्तै कप्तान रोहितकुमार पौडेलले ८ रनमै पेभेलियन फर्किए । तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्लले ५९ बलमा ४ चौकासहित २६ रन बनाएर पारी संहाल्ने प्रयास गरेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बल चम्काउने नाममा थुकको प्रयोग गर्न नपाउने अभ्यासलाई नियमकै रुपमा मान्यता दिएको छ । तर, युएईका एकजना बलरले थुकको प्रयोग गरी बल चम्काएपछि युएईले ५ रन पेनाल्टी ब्यहोर्नुपरेको थियो । २१ औं ओभरको सुरुवात गर्ने क्रममा यूएईका बलर अलिशान सराफूले बल पुछ्ने क्रममा थुकको प्रयोग गरेका थिए ।

दीपेन्द्र सिंह ऐरीले १३ रन जोडे । २९.१ ओभरमा कुशल भुर्तेल ३५ रनको स्कोरमा आउट हुँदा नेपाल १०६-६ को कठिन स्थितिमा थियो ।

तर, सातौं विकेटका लागि आरिफ शेख र गुल्सन झाले ६२ रनको अर्धशतकीय साझेदारी गरेपछि नेपाले जितको आधार बनाएको छ । गुल्सनले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्बाधिक ३७ रन बनाए । आरिफ ३३ रनमा अविजित रहे । सोमपाल कामीले पनि १६ बलमा २ चौकासहित अविजित १६ रन बनाए ।

बलिङमा युएईका रोहन मुस्तफाले ३, हजरत विलालले २ तथा बसिल हमिदले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा अलआउट हुनुअघि १९१ रनको योगफल खडा गरेको थियो ।

सोमपाल कामी र ललित नारायण राजवंशीले ३–३ विकेट लिएपछि नेपालले युएईलाई सस्तैमा समेट्न सकेको हो । सोमपालले ७.२ ओभर बलिङ गर्दै ३५ रन खर्चिए । ललितले १० ओभरमा ४१ रन खर्चिए । करण केसी, गुल्सन झा, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १-१ विकेट लिए ।

युएईका लागि ओपनर मोहम्मद वासिमले सर्वाधिक ५० रन बनाए । उनले ४६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । वासिमले वृत्य अरविन्दसँग मिलेर ७२ रनको सुरुवाती साझेदारी गरेका थिए । १२औं ओभरको अन्तिम बललमा दीपेन्द्रसिंह ऐरीले अरविन्दलाई २५ रनको स्कोरमा आउट गरेपछि युएईको विकेट पतन सुरु भएको हो ।

युएईविरुद्ध एकदिवशीय अन्तर्राष्ट्रियमा पहिलोपल्ट बलिङ गरेका कुशल भुर्तेलले पहिलो अन्तर्राष्ट्रिय विकेटसमेत लिए । २४औं ओभरको पहिलो बलमा कुशलले युएईका कप्तान सिपी रिजवानलाई २२ रनको स्कोरमा आउट गरेका हुन् ।

युएईका लागि अलिसन सराफुले ३५, विष्णु सुकुमरनले १५ र बसिल हमिदले २४ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्