नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ४० करोड लगानी गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४० करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ३६७ दिन अवधिको लागि लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ६ करोड रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा २ करोड रुपैयाँ गरी कूल ४० करोड रुपैयाँ लगानी गर्न लागेको हो।

बैंकले उक्त रकम २०७९ मंसिर ८ गतेदेखि २०८० मंसिर ९ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो । राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी माघ १९ गतेसम्ममा बोलकबोल पेश गर्नुपर्ने छ ।

यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्नेछ ।

त्यसैगरी, निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने,शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array