ठूला व्यवसायीहरूका विरुद्ध उत्रियो घरेलु महासंघ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – नेपाल घरेलु तथा साना उद्योग महासंघले ठूला व्यवसायीहरूको दोहोरो चरित्रका विरुद्ध तिखो आरोप लगाएको छ । अहिलेको कठिन अर्थतन्त्रका बाबजुद बैंकहरुले आफु खुशी ब्याजदर वृद्धि गर्दै उद्योगी व्यवसायीहरूलाई अप्ठ्यारोमा पारेको सन्दर्भमा व्यवसायीहरूको बैंक विरुद्धको आन्दोलनलाई महासंघले नाटकको संज्ञा दिएको हो ।

‘प्रचलित बैंक तथा वित्तीय सम्बन्धी (वाफिया) ऐन विपरित केही निजी क्षेत्रका मुख्य छाता संस्थाका प्रमुख पदाधिकारीहरू बैंकर पनि आफैं र उद्योगी व्यापारी पनि आफै छन् । यस्तो दोहोरो भूमिकामा रहेका व्यवसायीहरूले आफ्नो अन्तर बैंकिङ सम्बन्धलाई प्रयोग गर्दै आफू अनुकूल सस्तो ब्याजदरमा रकम उठाउने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई चर्को ब्याजदरमा पार्ने षडयन्त्र गर्दै आएका छन् ।

उनीहरू एकातर्फ बैंकमार्फत् बढी मुनाफा तान्ने दौडमा सामेल हुने र अर्कोतर्फ उद्योगी व्यवसायीको पक्षमा बोलेजस्तो गर्ने गर्दैछन् । यस्ता निजी क्षेत्रका छाता संस्थाका पदाधिकारिहरुको नाटकीय चरित्र तथा बैंकहरुले देखाएको व्यवहारको नेपाल घरेलु तथा साना उद्योग महासंघ घोर भर्त्सना गर्दछ ।’ महासंघले विज्ञप्तिमार्फत भनेको छ ।

सोही विज्ञप्तिमार्फत महासंघले नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बैंकर्स संघलाई समेत ध्यानाकर्षण गराउँदै बैंकहरुले एकतर्फी ढंगले वृद्धि गरेको ब्याजदर, प्रिमियम लगायत सेवा शुल्कलाई नियन्त्रण गर्न समेत अपिल गरेको छ । कोभिड–१९ का बेला भएको लकडाउनको अवधिमा समेत आपूर्ति व्यवस्थालाई नियमित राख्न जोखिम मोलेर उद्योग सञ्चालन गरेका लघु घरेलु तथा साना उद्योगहरूलाई कालो सूचीमा राख्ने कार्य तत्काल बन्द गर्दै वातावरण सहज बनाउन महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array