काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका छन्।
आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले हेलिकोप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका हुन्।
उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिए।
उनले निर्वाचन आचारसंहितामा ७२ घण्टा हेलिकोप्टर उडाउन पाउने उल्लेख गरेका कारण संखुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घण्टामा विभिन्न १० ठाउँमा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको बताए।
उनले भन्ने, ‘गृहको सन्दर्भमा हेलिकोप्टरको प्रयोगको विषयमा अलिकति संवेदनशील हुनुपर्ने देखियो। अरु कामका लागि हेलिकप्टर प्रयोग नगर, सुत्केरी लिन जानुपर्ने होला, बिरामी बनाउनुपर्ने होला, ल्याउनुपर्ने होला, राज्यको कामसँग रिलेटेट कामहरु होला। तर हुँदै नभएको बिरामी लिएर उडेको भन्ने दुई वटा इस्यु आए। यो त गम्भीर हो। यसमा हामी भोलि एक्सनमा जानुपर्छ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थितिसहितको आचारसंहिता उल्लंघन कम रहे पनि सामाजिक सञ्जालमा भने निर्वाचन आचारसंहिता उल्लंघन बढेको बताए। उनले सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारबाही गरिरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेदनशील बन्न सबैको ध्यानाकर्षण गराए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले यस पटकको निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घण्टाको समयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगले आवश्यक कार्य गरिरहेको पनि बताए।


प्रतिक्रिया दिनुहोस्