दुई नेपाली कम्पनीको औषधि विक्री-वितरणमा रोक, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीको औषधि विक्री-वितरणमा रोक लगाएको छ ।

विभागले एक सूचना जारी गर्दै लोमस फर्मासिटिकल्स र बायोजेन रेमिडाइज प्रालिले उत्पादन गरेको औषधि गुणस्तरहीन भएका कारण तत्काल विक्री-वितरणमा रोक लगाएको जानकारी दिएको हो ।

बजार अनुगमनका क्रममा सङ्कलन गरेको नमुना परीक्षणमा लोमस फर्मासिटिकल्सले उत्पादन गरेको एसभट (भिटामिन सी) र बायोजेन रेमिडाइज प्रालिको बायोकल-डी (भिटामिन डिथी्र) नामको औषधि न्यून गुणस्तरको फेला परेको विभागले जनाएको छ ।

बायोकल डी रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाडौँको गोठाटारमा उत्पादन हुने गरेको थियो । यी औषधि क्याल्सियम तथा भिटामिन ट्याब्लेटहरु हुन् ।

विभागले सम्बन्धित उद्योगका आयातकर्ता तथा तिनका प्रतिनिधिलाई उक्त औषधि फिर्ता गर्न निर्देशन दिएको छ ।

यसअघि पनि विभागले विभिन्न समयमा गरेको अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधि गुणस्तरहीन पाइँदै आएका छन् । विभागको प्रत्येकजसो अनुगमनमा स्वदेशी तथा विदेशी कम्पनीका औषधि गुणस्तरहीन पाइनुले मानव स्वास्थ्यमा खेलबाड भइरहेको बुझाउँछ ।

अनुगमनको नजरमा नपरेका र अनुगमन परीक्षण हुनुअघि यस्ता कैयौँ गुणस्तरहीन औषधि बजारमा विक्री–वितरण भइरहेका छन् । यस्तोमा बजारबाट फिर्ता गर्नुभन्दा पनि गुणस्तरहीन औषधिलाई बजारमा प्रवेश नै नदिनु प्रमुख चुनौती बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array