काठमाडौं– सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षका लागि ३२ हजार टन धान खरिद गर्ने भएको छ । कम्पनीले मंसिरदेखि बजारमा आएको नयाँ धान किन्न सुरु गर्नै भएको हो । बर्सेनि धान खरिद लक्ष्य निर्धारण गर्ने तर अपेक्षित परिमाणमा किन्न नपाउने भएपछि यसवर्ष बेलैमा धान खरिद गर्ने प्रक्रिया अगाडि बढाउने भएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताएका छन् । कम्पनीले ५८ करोडभन्दा बढीको धान खरिद गर्ने निर्णय गरेको हो ।
अघिल्ला वर्ष पनि कम्पनीको लक्ष्य अनुसारको धान खरिद गर्न नसकेपछि यसवर्ष मसिंर देखि नै खरिद प्रक्रियालाई अगाडि बढाउन लागेको जानकारी दिएको छ । यस वर्ष धान खरिदको परिमाण गतवर्ष भन्दा बढी निर्धारण गरिएको छ ।
अहिले देशका विभिन्न जिल्लामा किसानलाई धान काट्ने र भित्र्याउने चटारो छ। सरकारले यसै सातामात्र धानको न्युनतम समर्थन मूल्य पनि तोकेको छ। सरकारले आर्थिक वर्ष २०७९र ८० को लागि धानको समर्धन मूल्य बढाएर तोकेको छ। जसमा मोटा धान प्रति क्वीन्टल २९६७ रुपैयाँ र मध्यम धान प्रति क्वीन्टल ३१२८ रुपैयाँ छ। गतवर्षको तुलनामा मोटा धानको मूल्य प्रति क्वीन्टल २१५ रुपैयाँ र मध्यम प्रति क्वीन्टल २२६ रुपैयाँ बढेको हो।


प्रतिक्रिया दिनुहोस्