निर्वाचन विथोल्नेहरुलाई कारबाही गर्न खुट्टा नकमाउनुहोस् : प्रमुख निर्वाचन आयुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०७९, शुक्रबार
4 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरुलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ । आयोगले कानुनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो ।

आयोगले कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै पनि व्यक्ति र तत्वहरुलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शुक्रवार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरुले पूर्ण रुपमा पालना गर्न र गराउन निर्देशन दिए ।

उनले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिइ निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही प्रारम्भ गर्न निर्देशन दिए । उनले कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरु हुने भएको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिए । उनले धेरै मतदान हुनु राम्रो भएपनि हँुदै नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी र निर्वाचनप्रतिको अवज्ञा भएकाले त्यसतर्फ शतर्कता अपनाउन आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुनसक्ने कुरालाई ध्यानमा राखि सुरक्षा निकायसँग समन्वय गरी त्यस्ता गतिविधि हुन नदिन पनि आग्रह गरे । उनले निर्वाचन मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरुको पनि उत्तिकै महत्वपूर्ण भुमिका हुने भएकाले निर्वाचन कार्यलाई निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा सहयोग हुने अपेक्षा गरेको बताए । उनले निर्वाचन आयोगले निर्वाचनलाई भयरहीत र निष्पक्ष बनाउन स्थानीय तहबाट नै स्वयंसेवकहरु परिचालन गर्ने पनि बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले आयोगले अहिले सबै निर्वाचन अधिकृतको कार्यालयबाट मतदान कार्यमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरुको नियुक्ति भइ तालिम दिने प्रक्रिया प्रारम्भ भइसकेको बताए ।

उनले मतदानको निम्ति मतपेटिका, मतपत्र लगायत आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरुको समान महत्व भएकाले सामानहरु रुजु गर्दा ठिक भए-नभएको र पर्याप्त भए-नभएको यकीन गर्न आग्रह गरे । उनले आफूलाई तोकिएको मतदान केन्द्रमा समयमा नै पुगि तोकिएका निर्देशनका सूचनाहरु प्रकाशित गर्ने र ४८ घण्टा अघिदेखि कुनैपनि किसिमको प्रचारप्रसार गर्न निषेध गर्नुपर्ने व्यवस्था र मतदानको तीन दिनअघि सम्पूर्ण मतदान क्षेत्रभर, जिल्लाभर मदिरा निषेधित क्षेत्र घोषणा गर्नुपर्ने विषयलाई विशेष ध्यान दिन पनि निर्देशन दिए । मतदानको दिन मतदान केन्द्रको सम्पूर्ण निरीक्षण गरी मतदान कार्य प्रारम्भ गर्न पनि आग्रह गरे । उनले निर्वाचनमा सबैभन्दा महत्वपूर्ण काम मतपत्रमा दस्तखत भएकाले निर्वाचन अधिकृतले यो कुरामा लापरबाही नगर्न पनि अनुरोध गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले यो पटक ४ वटा छुट्टा छुट्टै मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएकाले मतदातालाई राम्रोसँग बुझाउन पनि निर्देशन दिए । उनले सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा बन्दोबस्त प्रभावकारी बनाउन पनि आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा मतदाता आउने कुरामा रोकतोक हुनसक्ने कुरामा पनि सचेत रहन आग्रह गर्नुभयो । उनले आयोगले प्राकृतिक विपद् बाहेक अन्य कुनैपनि बहानामा मतदान कार्यलाई स्थगित गरी पुनः मतदान गर्ने कार्यलाई गम्भीर रुपमा लिएको बताए । उनले कतै असमझदारी भए त्यसलाई केही समयका लागि स्थगन गरी फेरि अवस्थालाई सामान्य बनाएर मतदान कार्य प्रारम्भ गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

Array