काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि शान्तिको नयाँ प्रक्रिया सुरु भएको बताए ।
गोरखामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा सुरुमै उनले जय नेपालबाट सुरु गरेका थिए ।
“विस्तृत शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेपछि शान्तिको नयाँ प्रक्रिया पनि सुरु भयो,” उनले भने, “देश त्यसपछि गणतन्त्रमा जाने प्रक्रिया सुरु गरिएको हो । जुनदिन गिरिजाप्रसाद कोइराला र मैले एउटै काजगमा हस्ताक्षर गर्यौँ । त्यही दिन जय नेपाल र लालसलाम एकठाउँमा उभिएका हुन् ।”
उनले दुवै पार्टीका कार्यकर्ताले एक अर्कालाई सहयोग गर्न आग्रह पनि गरे ।
“हामी भ्रममा नपरौँ । यो देशमा ठूला परिवर्तन जय नेपाल र लालसलाम मिलेरै भएका छन्,” उनले भने, “गिरिजाबाबु र मैले हस्ताक्षर गरेको दिनबाट मैले पनि रुखमा भोट हाल्न सुरु गरेको हो । गिरिजाबाबुले पनि हँसिया हथौडामा भोट हाल्न सुरु गर्नुभएको हो । अहिले पनि हामी मिलेनौँ भने परिवर्तन उल्टिन सक्छ ।”


प्रतिक्रिया दिनुहोस्