काठमाडौँ – साफ यु १५ महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानलाई १–० अन्तरले पराजित गरेको छ ।
बंगलादेश राजधानी ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा बुधबार भएको खेलमा नेपालले भुटानविरुद्ध गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो ।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा नेपालले दोस्रो हाफमा एक गोल गर्न सफर रह्यो । नेपालकी सेनु परियारले निर्णायक गोल गरेकी थिइन्। वर्षा ओलीको स्थानमा मैदान प्रवेश गरेकी सेनुले खेलको ४९औं मिनेटमा गोल गरेकी थिइन् ।
जितसॅंगै नेपालको तीन खेलबाट सत प्रतिशत जितसहित नौं अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाट बंगलादेश ६ अंक सहित दोस्रो स्थानमा छ । चार खेलमा खाता खोल्न नसकेको भुटान पुछारमा छ ।
अन्तिम खेलमा नेपालले शुक्रबार बंगलादेशसँग खेल्नेछ । उक्त खेलमा नेपालले कम्तीमा बराबरी खेलेमा तालिकाको शिर्ष स्थानमा रहॅंदै च्याम्पियन बन्नेछ । डबल राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको शीर्षस्थानमा रहने टोली सिधै च्याम्पियन बन्नेछ ।


प्रतिक्रिया दिनुहोस्