प्रभु साहलाई समर्थन नगरेपछि माओवादीले गर्‍यो आफ्नै उम्मेदवारलाई कारबाही

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ  – नेकपा माओवादी केन्द्रले रौतहटको क्षेत्र नं. ३ का आफ्नै उम्मेदवारलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा नेकपा माओवादीका उम्मेदवार बनेका रविन्द्र पटेल धिरजले उम्मेदवारी फिर्ता नलिएपछि माओवादीले उनलाई कारबाही गरेको हो ।

- Advertisement -
Ad imageAd image

गठबन्धनले सिट बाँडफाँट गर्दा रौतहटको क्षेत्र नं. ३ मा प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रको भागमा परेको थियो ।

तरपछि त्यस क्षेत्रमा प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनले उनलाई सघाउने निर्णय गर्दै आफ्नो समर्थन जनाएको थियो । तर पार्टीले निर्णय गरे पनि उम्मेदवार रहेका धिरज पटेलले आफ्नो उम्मेदवारी कायम रहेको र साहलाई कुनै पनि हालतमा समर्थन नगर्ने भन्दै चुनावी प्रचार प्रसारको अभियानलाई जारी राखेका छन ।

पार्टीको निर्णय नमानेको भन्दै माओवादी केन्द्रले आज पटेलको सदस्यता खारेज गरेको हो । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश इञ्चार्ज गणेश साहले पटेललाई पार्टीबाट निष्काशन गरेको बताएका छन ।

‘केन्द्रीय समितिले स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सघाउन दिएको निर्देशनलाई अटेर गर्दै पटेलले आफ्नो उम्मेदवारी कायम राखी अनावश्यक प्रचार प्रसार गरेकाले उनलाई पार्टीबाट निष्कासन गरिएको हो,’ इञ्चार्ज साहले भने, ‘पार्टीले उनलाई अनुशासनको कारबाही गरेको हो, उनी आजकै दिनबाट पार्टी सदस्य होइनन् ।’

उम्मेदवार पटेललाई सघाएको भन्दै माओवादी केन्द्रले पार्टी प्रदेश कमिटी सदस्य विन्देश्वर यादवलाई समेत पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्