आचारसंहिता र निर्देशनको अवज्ञा गरिए सह्य नहुने प्रमुख आयुक्त थपलियाको चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका संघसंस्था र युवा प्रतिनिधिसँग बुधवार आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरूपमा सम्पन्न गराउन सघाउनुपर्ने भएकाले आचारसंहिताको उल्लंघन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महंगो पर्नसक्ने चेतावनी दिए ।
उनले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारवाही हुने स्पष्ट गरे ।

युवालाई सामाजिक सञ्जाल र अन्य माध्यमको उपयोग गरी निर्वाचनको सकारात्मक प्रचारप्रसार र मतदाता शिक्षा दिन आग्रह गर्दै उनले आचारसंहिताको उल्लंघन पाइएमा जुनसुकै माध्यमबाट उजुरी दिने सकिने अवगत गराए । उनले निर्वाचनमा जित्नेभन्दा पराजित हुने उम्मेदवारको संख्या धेरै हुने भएकाले निर्वाचनपछिको राजनीतिक वातावरण धुमिल हुन नदिन र सौहार्दता कायमका लागि पनि युवाले सकारात्मक भूमिका खेल्न सक्ने उल्लेख गरे ।

प्रमुख आयुक्त थपलियाले मतदान केन्द्र सकेसम्म अपाङ्गतामैत्री बनाउन आग्रह गरिएको र त्यसतर्फ आयोग सचेत रहेको स्पष्ट गरे । उनले भने, ‘मतदाताको विवेकको मत प्रयोग गराउन मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकलाई आयोगले सुम्पिएको विश्वासमा कुठाराघात नहोस्, स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित निर्वाचन गराउने लक्ष्यमा हामी सबैको सहयोग चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

Array