प्रधानमन्त्री बन्नका लागि चुनाव जित्नुको विकल्प छैनः गगन थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताएका छन्।

बुधबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी बनेका महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताएका हुन्।

- Advertisement -
Ad imageAd image

आफ्नो पहिलो लक्ष्य प्रतिनिधिसभा सदस्य र दोस्रो लक्ष्य भनेको पार्टीबाट संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्नु रहेको उनकाे भनाइ छ।

महामन्त्री थापाले हरेक निर्वाचनमा आफूलाई जनता नै शक्ति हुन् भन्नेकुराले डर लाग्ने गरेको बताए।

उनले भने, ‘योभन्दा अघिको चुनावमा जस्तो उत्साह र शुभेक्षा देखिन्थ्यो, त्यो देख्न छोडिएको छ। म प्रत्येक निर्वाचनमा डराउँछु। निर्वाचनमा डराउँछु भनेको त्यसले आफूलाई अनुशासित बनाउँछ, मतदातासँग सम्पूर्ण शक्तिनिहित हुन्छ भन्ने कुरालाई विश्वास गर्नुपर्छ। मसँग आफू बाहेकको मत हुँदैन, त्यसैले मतदातासँग शक्ति छ भनेर डराउनुपर्छ। हामीले अहिले सांसदका लागि लडेका छौँ, त्यसपछि संसदीय दलको चुनाव हुन्छ। त्यसका लागि म लड्ने हो, जित्ने हो, त्यसपछि जो नेपाली कांग्रेसको संसदीय दलको नेता हुन्छ, त्यही प्रधानमन्त्रीको उम्मेदवार हुने हो।’

महामन्त्री थापाको निर्वाचन क्षेत्रका मतदाता भने थापाप्रति सन्तुष्ट नै देखिन्छन्। मतदाताहरूले पुराना नेताहरु परिवर्तन गरी देशमा युवा नेताहरू छान्नुपर्ने बेला आइसकेको अभिव्यक्ति दिए ।

निर्वाचन आयोगले उम्मेदवारहरूलाई सभा, गोष्ठी, सेमिनार लगायतका चुनावी प्रचारप्रसारको समय दिएसँगै अहिले देशभर राजनीतिक दल र उम्मेदवारहरू नागरिकको घरदैलोमा पुगेर भोट माग्न व्यस्त छन्।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरूले नागरिकको घरघरमा पुगेर मत माग्ने क्रम जारी छ। निर्वाचन आयोगले मंसिर २ गतेसम्म उम्मेदवारहरूलाई भोट माग्नका लागि, गोष्ठी, सेमिनार, सभा गर्न समय उपलब्ध गराएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्