कामठमाडौँ – पूर्वमन्त्री निलाम्बर आचार्यले राजनीतिक दलका प्रमुख नेताहरू उम्मेदवार भएको क्षेत्रमा चुनावलाई स्वच्छ बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन ।
उनले भने, ‘प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँमा निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्छ । उनीहरूले म स्वच्छ किसिमले, निष्पक्ष किसिमले, धाँधलीरहित किसिमले अनुचित प्रभावविना मतदानद्वारा निर्वाचित भएको हुँ भन्ने पाउनका निम्ति ती ठाउँमा विशेष ध्यान दिइयोस् भन्ने मेरो आग्रह छ । प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँलाई स्वच्छताको एउटा मापदण्डको रूपमा प्रस्तुत गरियोस् ।’
पूर्वमन्त्री आचार्यले नेपालमा कुनै बेला रातारात मतपेटिका साटिएकोतर्फ ध्यानाकर्षण गराउँदै मतपेटिकाको सुरक्षाका लागि सतर्कता आवश्यक रहेको बताए । उनले नागरिकको सजगता र सतर्कताले आयोगलाई पनि सजग र सतर्क हुन मद्दत गर्ने बताए । चुनावको मौन अवधिमा बदमासी हुन सक्ने भन्दै त्यसतर्फ आयोगले निगरानी गर्नुपर्ने उनको भनाइ छ ।
पूर्वमन्त्री आचार्यले कार्यान्वयन हुन सक्नेगरी मात्रै निर्वाचनसम्बन्धी कानुन बनाउनुपर्ने बताए । आचारसंहितामा कतिपय कुरा अस्पष्ट रहेको भन्दै त्यसलाई पनि प्रष्ट पार्नुपर्ने उनको आग्रह छ ।


प्रतिक्रिया दिनुहोस्