प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध फायर खोलेका छन् । शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले, ओलीले दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा नआउने बताएका छन् । उनले भने– ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा फिर्ता आउँछ ? कि लड्नुपर्यो – बन्दुक ल्याउनुहोला । होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषणमा त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिएपनि भयो ।’
हिजो मात्र एमाले अध्यक्ष ओलीले दार्चुलाबाट एमालेको चुनावी अभियान शुरु गर्दै प्रम देउवालाई लिपुलेक लिम्पियाधुरा फिर्ता ल्याउने हिम्मत छ भनेर सोधेका थिए ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएकोले त्यसका विरुद्धमा गठबन्धन बनाउनु परेको बताए । देउवाले भने ‘षड्यन्त्रपूर्ण तरिकाले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाए संसद विघटन गर्नुभयो । त्यसका विरुद्धमा गठबन्धन बनेको हो । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्छ ।’
सभालाई सम्बोधन गर्दै देउवाले माओवादी उम्मेदवारलाइ समेत भोट मागे । माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गर्दै प्रधानमन्त्री देउवाले भने, ‘खगराज भट्ट माओवादीको नेता हो । उहाँ र हाम्रो पार्टीका साथीहरू मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ । डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ । उहाँलाई शेरबहादुर देउवा भनेर भोट हालिदिनुहोला ।’


प्रतिक्रिया दिनुहोस्