सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी भएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । आदेशसँगै मुद्दाको किनारा नलागेसम्म उनी कारागारमा रहने छन् ।

भदौ २१ गते सन्दीपविरुद्ध नाबालिगले आफूलाई जबरजस्ती करणी गरेको भन्दै किटानी जाहरी दिएकी थिइन् । नाबालिगले क्रिकेटर सन्दीपले आफूलाई सिनामंगलस्थित ‘होटल काठमाडौं ईन’ मा पटकपटक जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

- Advertisement -
Ad imageAd image

जाहेरी दर्ता भएको करिब एक महिनापछि सन्दीप असोज २० गते  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि अनुसन्धानको क्रममा प्रहरीको हिरातमा थिए ।

गएको सोमबार सन्दीपविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा १० देखि १२ वर्षसम्म कैद र पीडितलाई उचित क्षतिपूर्ति माग गर्दै सरकारी वकिलको कार्यालयका तर्फबाट न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले अदालतमा मुद्दा दायर गरेका हुन् ।

उनीविरुद्धको मुद्दामा मंगलबारदेखि सुरु भएको थुनछेक बहस आज सकिएको हो । सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेको नेतृत्वमा चारजना सरकारी वकिल, जाहेरवालाको तर्फबाट तीनजना कानुन व्यवसायी र सन्दीपको तर्फबाट ११ जना कानुन व्यवसायीहरुले बहस गरेका हुन् ।

सरकारी वकिल र जाहेरवालाको तर्फबाट उपस्थित कानुन व्यवसायीहरुले तत्काल प्राप्त प्रमाणका आधारमा सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै बहस गरेका थिए । सन्दीपको तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुले धरौटीमा रिहा गर्न माग गरेका थिए ।

बहस सकिएपछि न्यायाधीश घिमिरेको इजलासले सन्दीप तत्काल प्राप्त प्रमाणहरुको आधारमा दोषी हुन् भन्ने मनासिब आधार रहेको भन्दै उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्