काठमाडौँ – तीन महिनादेखि उत्पादन बन्द भएको हेटौंडा सिमेन्टको उत्पादन फेरि सुरु भएको छ । आर्थिक समस्याका कारण कोइलाको आपूर्ति नहुँदा सिमेन्टको उत्पादन बन्द भएको हो ।
कोइला विक्रेतासँग अनुरोध गरेर केहि समयलाई कोइलाको व्यवस्थापन गरि उद्योग सञ्चालनमा ल्याइएको महाप्रबन्धक बसन्तकुमार पाण्डेले बताए । कोइला सप्लाईका लागि बोलपत्र आह्वान गरिसकिएको उनले जनाएको छ । भारत, भुटान, इन्डोनेसियालगायत देशबाट कोइला आउन थालेपछि उत्पादन सहज हुने उनको भनाइ छ ।
‘उद्योगमा आर्थिक समस्या त छँदैछ । त्यसैकारण पनि कोइलाको व्यवस्थापनमा हामीलाई समय लाग्यो । केहि मेसिन मर्मत गर्नुपर्ने पनि थियो । हामीले यी समस्याहरु समाधान गरिसकेका छौं । अब उद्योग निरन्तर चल्छ’, महाप्रबन्धक पाण्डेले बताए ।
उत्पादन लागत भन्दा कममा घाटा खाएर सिमेन्ट बेच्नुपर्दा उद्योग सञ्चालन गर्न कठिनाई भएको उनले बताए । ‘सिमेन्ट बिक्रीबाट भएको आम्दानीले उद्योगको खर्च धान्न सक्ने अवस्था छैन । एक बोरा सिमेन्ट ९ सय रुपैयाँमा उत्पादन गरेर ७ सय ४७ रुपैयाँमा बेच्दा उद्योगलाई कसरी नाफामा लैजान सकिन्छ रु’, उनले भने, ‘उद्योगमा आइरहने यसखालको समस्या अन्त्य गर्न र नियमित सञ्चालनका लागि सरकारकै पहल आवश्यक छ ।’
४० वर्षअघि स्थापना भएको उद्योगमा हाल २ सय १८ जना कर्मचारी छन् । उद्योग सञ्चालन भएको अवस्थामा दैनिक १० देखि १४ हजार बोरा सिमेन्ट उत्पादन हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्