सबै दलको चुनावी घोषणापत्रमा कृषि र स्वास्थ्य बीमा प्राथमिकतामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०७९, बुधबार
5 Min Read
Aa

काठमाडौँ – मंसिर ४ मा हुने निर्वाचनमा राजनितिक दलहरुले आफनो घोषणापत्रमा बीमाको बिषयलाई समावेश गरेको छ।

हाल नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा एमालेले मंसिरमा हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्र निकालेका राजनितिक पार्टीहरुले आफनो घोषणापत्रमा बीमालाई समेत प्राथमिकतामा राखेका छन् ।

पाँच वर्ष भित्र सबै नागरिकको ‘स्वास्थ्य बीमा र बीमा मार्फत गम्भिर प्रकृतिका रोगको उपचारको सुनिश्चिता

नेपाली कांग्रसले घोाषणापत्र ५ वर्ष भित्र सबै नागरिकको ‘स्वास्थ्य बीमा र बीमा मार्फत गम्भिर प्रकृतिका रोगको उपचारको सुनिश्चिता गर्ने भनिएको छ ।
त्यस्तै बीमा रकमको दायरा बढाई १० लाख पुर्याइने कांग्रेसले प्रतिवद्धता व्यक्त गरेको छ । आधारभुत बाहेकका सबै स्वास्थ्य सेवा बीमाबाट हुने गरी सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमलाई बीमामा एकीकृत गर्न आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरिने भनिएको छ ।

प्रभावकारी स्वास्थ्य बीमा र कृषि बीमालाई प्राथमिकता

एमालेको घोषणापत्रमा प्रभावकारी स्वास्थ्य बीमा र कृषि उपज बीमा एमालेको चुनावी एजेण्डा समेत समावेश गरिएको छ।एमालेले आफ्नो घोषणा पत्रमा कृषि उपजको समर्थन मूल्य तोक्ने, कृषि उपजको अग्रिम खरिद सम्झौता गर्ने र कृषि उपजको बीमा गर्ने उल्लेख गरेको छ ।

त्यस्तै, संचालामा रहेका सबै सहकारीलाई सहकारी बीमा व्यवस्थामा आबद्ध गरिने छ । सहकारी ऋण सूचना, तरलता व्यवस्थापन तथा कारोबार क्लियरिङ्गको व्यवस्था गरिने छ’ एमालेले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ ।

प्रभावकारी स्वास्थ्य बीमा कार्यक्रममार्फत् नागरिकको स्वास्थोपचार सहज बनाइने एमालेले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ ।आगामी ५ वर्षभित्र सम्पूर्ण नेपालीको स्वास्थ्य बीमा गरिसकिने घोषणापत्रमा उल्लेख छ । त्यस्तै, घोषणापत्रको १६ औ बुँदामा समृद्धिसङ्गतको नाता : सबैको बैंक खाता अन्तर्गतमा सबै साना किसान तथा साना व्यवसायीलाई लघुबीमा सेवा उपलब्ध गराउने र सहुलीयतमा ब्याज प्रदान गर्ने एमालेले जनाएको छ।

बीमाको दायरा विस्तार गर्नेदेखि स्वास्थ्य बीमालाई समेत प्राथमिकता

नेकपा माओवादीले सार्वजनिक गरेको घोषणापत्रमा बीमाको दायरा विस्तार गर्नेदेखि स्वास्थ्य बीमालाई समेत प्राथमिकतामा राखेको छ।नेकपा माओवादीले बीमाको दायरा वृद्धि गर्न ग्रामीण क्षेत्रसम्म पुराउन, बीमा दाबी भुक्तानीलाई सहजीकरण गर्ने र कृषि बीमामा पनि थप सहज गर्ने पाटो घोषणापत्रमा समेटिएको छ।

बीमाको दायरा वृद्धि गरी खासगरी कृषि, पशुपन्छीपालन तथा जडीबुटी व्यवसायका हरेक उपक्षेत्रमा समेत बीमाको प्रभावकारी व्यवस्था गरिने उल्लेख छ । बीमा प्रिमियमबापत मुलुक बाहिर रकम जाने क्रमलाई नियन्त्रण गरिने, गरिबिको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न ५ लाख रुपैयाँसम्मका बिउ पुँजी बिना धितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने त्यस्तोसञ्चालित व्यवसायको बीमा गर्दा प्रिमियममा ९० प्रतिशत अनुदान दिने व्यवस्था गरिने छ ।

पाँच वर्षभित्र सबैलाई स्वास्थ्य बीमा कार्यक्रम लागु गरिने

नेपाल समाजवादी पार्टीले कृषि बीमा र बीमामा पहुँच वृद्धि गर्ने एजेण्डा घोषणापत्रमा राखेको छ। कृषि बीमालाई कार्यक्रममार्फत प्रभावकारी ढंगले लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, बीमामा पहुँचः सहजरुपमा बीमा सेवा उपलब्ध हुने व्यवस्था गरिने, बीमाको पहुँच बढाउँदै पुनःबीमा कम्पनीको वित्तीय क्षमता बढाईने र सबै सहकारी संस्थाहरुलाई समेत बीमामा आवद्ध गरिने घोषणापत्रमा भनिएको छ । पाँच वर्षभित्र सबैलाई स्वास्थ्य बीमा कार्यक्रम लागु गरिने समेत घोषणापत्रमा उल्लेख छ ।

जीवन बीमाको व्यवस्था र कृषि बीमाको पहुँच अभिवृद्धि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपाको घोषणापत्रमा सहुलियत ऋण र जीवन बीमाको व्यवस्था र कृषि बीमालाई समेटिएको छ । आगामी मंसिर चारमा मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राप्रपाले तयार गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसदलगायत विषय उल्लेख छ।

त्यस्तै, वैदेशिक रोजगारीका क्रममा विदेशमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमाको व्यव्स्था गरिने समेत उल्लेख छ ।

बीमाको पहुँच बढाउँदै बीमा कम्पनीको वित्तीय क्षमता बढाईने

नेपाल समाजवादी पार्टीले कृषि तथा पशु बीमा कार्यक्रम र बीमामा पहुँच गरी २ बुँदामा बीमालाई समेटेको छ । कृषि तथा पशु बीमा कार्यक्रममाः कृषिजन्य कार्यहरु सर्बमा प्रभावकारी बीमा कार्यक्रममार्फत लगानी सुरक्षित गरिने उल्लेख गरिएको छ ।
त्यस्तै, बीमामा पहुँचः सहजरुपमा बीमा सेवा उपलब्ध हुने व्यवस्था गरिने, बीमाको पहुँच बढाउँदै पुनःबीमा कम्पनीको वित्तीय क्षमता बढाईने र सबै सहकारी संस्थाहरुलाई समेत बीमामा आवद्ध गरिने घोषणापत्रमा भनिएको छ । यस्तै, ५ वर्षभित्र सबैलाई स्वास्थ्य बीमा कार्यक्रम लागु गरिने समेत बताईएको छ ।

सबै नागरिकलाई सहजरूपमा अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गर्ने

एकिकृत समाजवादी पार्टीले कृषि बीमा र स्वास्थ्य बीमा घोषणापत्रको एजेण्डामा समावेश गरेको छ । समाजवादी पार्टीले सबै नागरिकलाई सहजरूपमा अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गर्ने घोषणा गरेको छ ।
गरिबीको रेखामुनि रहेका जनताका लागि बीमा रकमको ५० प्रतिशत रकम सरकारले भुक्तानी गरिदिने घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्